रसुवा — नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज आफ्नै पुरानो रेकर्ड तोड्दै १८४औं पटकको रक्तदान गर्नुभएको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज समूहले संयुक्तरुपमा रसुवाको कालिकास्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले यो ऐतिहासिक योगदान गर्नुभयो।

कर्माचार्यले यसअघि नेपालका जुम्ला, बाजुरा, डडेल्धुरा, बाँके, सुर्खेत, गोरखा, नुवाकोट, स्याङ्गजा, कञ्चनपूर लगायत विभिन्न जिल्लाहरूमा पुगेर युवाहरुलाई रक्तदानका लागि उत्प्रेरणा प्रदान गर्दै आउनुभएको छ।
१८४औं पटक रक्तदान गर्दै कर्माचार्यले जनतालाई भने, “मानिसलाई आवश्यक अतिआवश्यक रगतको कुनै विकल्प छैन। आफ्नो जन्मोत्सवसँगै महान कार्य रक्तदानमा लाग्न सबैलाई अनुरोध गर्दछु।”
उहाँले संस्थागत रूपमा दान गरिएको रगत विरामीले निःशुल्क पाउनुपर्ने मागलाई संघीय सरकारले कुनै सुनुवाई नगरेको पनि बताउनुभयो।
कार्यक्रममा कर्माचार्यलाई सम्मान पनि प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै उहाँले भने, “यो सम्मानले अझै बढी रक्तदान क्षेत्रमा काम गर्न जिम्मेवारी थपेको छ।”
समाज रसुवा शाखाकी कोषाध्यक्ष सुमित्रा सापकोटाले जानकारी दिँदै कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको बताउनुभयो।