बिर्तामोड, झापा । झापाको बिर्तामोडस्थित गायत्री माताको मन्दिर सञ्चालनको पहिलो वर्षमै पूर्वी नेपालको एक प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिर सञ्चालनमा आएको पहिलो वर्षभित्रै दुई लाखभन्दा बढी भक्तजनले गायत्री माताको दर्शन गरेका छन्। अर्जुनधारा जलेश्वर धामपछि पूर्वी नेपालमा सबैभन्दा धेरै श्रद्धालु आउने धार्मिक स्थलका रूपमा यस मन्दिरले आफ्नो पहिचान बनाएको छ। बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिकै अवस्थित यो मन्दिर पूर्वी नेपालकै पहिलो गायत्री माताको मन्दिर भएकाले पनि यसप्रति दर्शनार्थीको आकर्षण तीव्र रूपमा बढेको हो।
करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस मन्दिरको २०८१ साल माघ २१ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विधिपूर्वक प्राण प्रतिष्ठा गर्नुभएको थियो। पाँचदिने विशेष अनुष्ठानसहित गरिएको उक्त प्राण प्रतिष्ठा कार्यक्रमको उद्घाटन तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो। मन्दिरमा दैनिक पूजापाठका साथै नियमित रूपमा धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदै आएका छन्। वैदिक सनातन हिन्दू धर्ममा वेद माता र जननीका रूपमा पुजिने गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रूपमा समेत स्वीकार गरिने भएकाले यहाँ जप र ध्यानका लागि आउने श्रद्धालुको संख्या निरन्तर बढिरहेको छ।
मन्दिरको कुशल सञ्चालन र रेखदेखका लागि विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति सक्रिय रहेको छ। जसमा सुजित अग्रवाल सहसंयोजक, मनोज बजाज सचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहनुभएको छ। मन्दिरको संरक्षकका रूपमा बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सुरक्षा निकायका प्रमुखहरू रहेका छन् भने ३१ सदस्यीय सल्लाहकार समितिले पनि मन्दिरको विकासमा योगदान पुऱ्याउँदै आएको छ। व्यवस्थित पूजा प्रणाली र नियमित धार्मिक गतिविधिले गर्दा गायत्री मन्दिर बिर्तामोडको मात्र नभई समग्र पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ।


















