बिर्तामोड — बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा प्रसाईँले पानसमा दीप प्रज्वलन गरी रनिङ शिल्ड अनावरण गर्दै उद्घाटन गर्नुभयो।
नगरपालिकाको शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीका अनुसार प्रतियोगितामा ३८ वटा विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी छन्। प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ।
रनिङ शिल्डमा एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायतका विभिन्न खेल विधा समावेश गरिएका छन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको शारीरिक, मानसिक र अनुशासनात्मक विकासका लागि यस्ता खेलकुद प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो। फरक–फरक विद्यालयका विद्यार्थीबीचको प्रतिस्पर्धाले तयारी र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले आगामी दिनमा नगरभित्रका शतप्रतिशत विद्यालयको सहभागिता सुनिश्चित गरिने बताउनुभयो। यस वर्षदेखि बिर्तामोड नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको व्यवस्था गरेकोप्रति खुसी व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, नगर कार्यपालिका सदस्य तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत विभिन्न विद्यालयका शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नियमअनुसार राष्ट्रपति रनिङ शिल्ड लगातार तीन वर्ष विजेता बन्ने विद्यालयलाई मात्र स्थायी रूपमा प्रदान गरिने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार