हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिर्तामोडमा एमालेको पत्रकार सम्मेलन : तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको माग

बिर्तामोड, कार्तिक २० । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेन–जी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ। बिहीवार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो विचार र माग सार्वजनिक गर्दै त्यस्ता हिंसात्मक गतिविधि संविधान र लोकतान्त्रिक मूल्यविरुद्धको कार्य भएको जनाएको हो।

Advertisement

एमालेले गत भदौ २३ गतेको आन्दोलनका क्रममा १९ जना नवयुवाको मृत्यु तथा त्यसपछिका तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, बिर्तामोडमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका तीन जना आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Advertisement

नगर कमिटीले जारी गरेको विज्ञप्तिअनुसार पार्टी अध्यक्ष सुवास भट्टराई, पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश मन्त्री एकराज कार्की, नगरप्रमुख पवित्रा महता प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष मदन बुढाथोकीलगायतका घर, सवारीसाधन र कार्यालयहरूमा आगजनी तथा तोडफोड भएको छ। त्यस्तै, बिर्तामोड नगरपालिका, शिक्षक हित साकोस, गरामनी क्याम्पस, जिल्ला ट्राफिक कार्यालय र एमाले कार्यालयहरूसहित दर्जनौँ सार्वजनिक भवनमा क्षति पुगेको विवरण सार्वजनिक गरिएको छ।

पार्टीले सम्पूर्ण क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीहरूको पहिचानसहित कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, गरामनी बजारमा रहेको शहीद स्मारकको प्रतिमा तोडफोडमा संलग्नमाथि पनि कारबाही हुनुपर्ने माग राखिएको छ।

पत्रकार सम्मेलनमा एमालेले असंवैधानिक रूपमा गठन भएको वर्तमान सरकारप्रति असन्तोष जनाउँदै, संसद्‌द्वारा पारित बजेट कटौती गरी बिर्तामोडका विकास योजना रोकिएको आरोप लगाएको छ। पार्टीले रोकिएका सबै योजना तुरुन्त कार्यान्वयन गर्न आग्रह गर्दै रिङरोड, चैत नेत्र मार्ग, सैनिक मोड–तेलकानी पोखरी सडक लगायत २८ करोड रुपैयाँका योजनाहरू अघि बढाउन माग गरेको छ।

त्यस्तै, बेमौसमी वर्षाबाट धान नष्ट भएका किसानलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने एमालेको माग छ। पार्टीले मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने ११औं महाधिवेशनको तयारीसहित स्थानीय तहमा जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)