झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रको सडक पेटी (फुटपाथ) खाली गराउने अभियानलाई पुनः तीव्रता दिएको छ। नगर प्रहरीको टोलीले शुक्रबार बिर्तामोडस्थित कृषिथोक रोड क्षेत्रका फुटपाथ अतिक्रमण गरी राखिएका सामग्रीहरू हटाएको हो।
नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीहरूलाई आफ्नो पसलको सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो। तर, व्यापारीहरूले अटेरी गरी पैदलयात्रु र सवारी आवागमनमा अवरोध पुर्‍याउने गरी फुटपाथ प्रयोग गरेपछि नगरपालिकाले ‘फुटपाथ क्लियर’ अभियान सुरु गरेको हो।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गत वर्षदेखि नै सुरु गरिएको यो अभियानलाई निरन्तरता दिइएको बताए। “हामीले व्यवसायीहरूलाई बारम्बार अनुरोध गर्यौँ, तर समस्या समाधान भएन,” उपप्रमुख संग्रौलाले भने, “भोलिदेखि नगरका सबै आवश्यक क्षेत्रमा जनप्रतिनिधिको प्रत्यक्ष नेतृत्वमा सडक पेटी खाली गराइनेछ।”
नगर प्रहरीका सह–इन्चार्ज टंक तिम्सिनाका अनुसार कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराइएको थियो। “सूचनालाई बेवास्ता गरेपछि आज हामीले सडक पेटीमा राखिएका सामानहरू जफत गर्न थालेका हौँ,” तिम्सिनाले जानकारी दिए।
कृषिथोक क्षेत्रको सडक पेटीमा सामग्री राखेर बिक्री–वितरण गर्दा पैदलयात्रुले सास्ती भोग्नुपरेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आउने गरेको थियो। नगरपालिकाले बजारलाई व्यवस्थित र आवागमनलाई सहज बनाउन यो कदम चालिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार