झापा, २२ पुस । झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको टोली र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त टोलीले सोमबार दिउँसो १:३० बजे चेकजाँच गर्दा सोही स्थान बस्ने ४० वर्षीय अजय राजवंशीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राजवंशीको साथबाट तथा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिकबाहेक १२३ ग्राम १८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी घटनास्थलबाट नेपाली नगद २ लाख ६७ हजार रुपैयाँ, भारतीय नगद २९ हजार ५ सय रुपैयाँ, डिजिटल तराजु १ थान, कैँची १ थान, चक्कु १ थान तथा मोबाइल फोन २ थान बरामद गरिएको छ।
पक्राउ परेका राजवंशीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
+1

















