बिर्तामोड, झापा । झापाको बिर्तामोड बसपार्क क्षेत्रका होटलहरूमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो पछि प्रहरीले आफ्नो सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले शंकास्पद होटलहरूको पहिचान गरी ‘सर्च अपरेशन’ र विशेष निगरानी सुरु गरेको हो। यसै क्रममा गए राति करिब पौने १० बजे अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा रहेको राईमान होटल एन्ड लजबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अवस्थामा फेला परेका पाँच युवती र पाँच पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने युवतीहरू १८ देखि २४ वर्ष उमेर समूहका रहेका छन्। त्यस्तै, ग्राहकका रूपमा भेटिएका चार जना भारतीय र एक जना नेपाली पुरुषलाई पनि आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोड बसपार्क र सैनिक मोड क्षेत्रका करिब दुई दर्जन होटलहरूमा युवतीहरू राखेर व्यावसायिक रूपमै यौनधन्दा हुने गरेको स्थानीयको गुनासो रहँदै आएको छ। केही दिनअघि मात्रै सोही क्षेत्रको अर्को होटलबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पछिल्लो समय प्रहरीले निगरानी कडा पारेपछि होटल सञ्चालकहरूले नयाँ शैली अपनाएको समेत खुलेको छ। होटलमै युवतीहरू नराखी ग्राहकको माग र इच्छा अनुसार बाहिरबाट युवती मगाएर व्यवसाय सञ्चालन गर्ने गरिएको पाइएको छ। प्रहरीले बसपार्क र सैनिक मोडका होटलहरूलाई लक्षित गरी आफ्नो कारबाहीलाई निरन्तरता दिने र गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताएको छ।