भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित राजन चोकबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब साढे २ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध बरामद गरेको हो।

​पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल, दिनासपुर घर भई हाल झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी बस्ने ३३ वर्षीय मो. जाबिर आलम रहेका छन्। प्रहरीले खानतलासी गर्दा निजले लुकाई–छिपाई ल्याएको खैरो रङको लिस्याइलो पदार्थ (ब्राउन सुगर) फेला पारेको थियो। बरामद गरिएको उक्त पदार्थ प्लास्टिकसहित जोख्दा ५ ग्राम ९८० मिलिग्राम र प्लास्टिक बाहेकको खुद तौल ५ ग्राम ६२० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

​लागूऔषधसहित नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। सीमा क्षेत्रमा लागूऔषध ओसारपसार बढ्न सक्ने भन्दै प्रहरीले पछिल्लो समय जाँचबुझ र निगरानीमा थप कडाइ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार