बिर्तामोड, झापा। झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ मा ‘नागरिक भेटघाट चौतारी’ निर्माण गरिएको छ। स्थानीयवासीबीच आपसी भेटघाट, विश्राम र संवादको थलो बन्ने उद्देश्यले उक्त चौतारी निर्माण गरिएको हो।
निर्माण समितिका अध्यक्ष खेम शिवाकोटीका अनुसार बिर्तामोड नगरपालिका, स्थानीय व्यक्तित्वहरू तथा वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका दाताहरूको आर्थिक सहयोगमा चौतारी निर्माण गरिएको हो।
गारामुनि क्षेत्रमा रहेको बिर्तामोड–भद्रपुर सडक खण्ड तथा दुर्गा मन्दिर नजिक निर्माण गरिएको उक्त चौतारीले जेष्ठ नागरिकदेखि लिएर सम्पूर्ण नगरवासीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। चौतारी आसपासमा बस्ने, भेटघाट गर्ने तथा सामाजिक गतिविधि सञ्चालन गर्न सहज वातावरण तयार भएको स्थानीयले बताएका छन्।
अध्यक्ष शिवाकोटीका अनुसार चौतारी निर्माणको काम अझै प्रारम्भिक चरणमै रहेकाले यहाँ थप पूर्वाधार निर्माणका कामहरू गर्न बाँकी रहेका छन्। आगामी दिनमा चौतारीलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना रहेको उनले जानकारी दिए।
चौतारी परिसर व्यवस्थित बनाउन बिर्तामोड नगरपालिकाले पार्केटिङका लागि होलो ब्लक ओछ्याउने कार्यका लागि १ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको थियो। बाँकी संरचना तथा अन्य आवश्यक कामहरू भने विभिन्न दाताहरूको सहयोगमा सम्पन्न गरिएको निर्माण समितिले जनाएको छ।


















