झापा। कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज (बुधबार) भद्रपुर क्रिकेट क्लवले जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको छ। काठमाडौँको यो लगातार दोस्रो हार हो।
भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको भद्रपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो। जवाफमा काठमाडौँ ९ विकेटमा ११८ रनमा सीमित रह्यो।
भद्रपुरका लागि समिर कार्कीले सर्वाधिक ३२ रन बनाएका थिए भने बलिङतर्फ विपिनकुमार महतोले ३ विकेट लिए। काठमाडौँतर्फ क्रिस कार्कीले २२ रन बनाए। खेलको म्यान अफ द म्याच विपिनकुमार महतो घोषित भए र उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे।
आजै भएको पहिलो खेलमा भारतको आसामले नयाँ दिल्लीलाई १४ रनले हरायो। आसामले १२६ रनको मध्यम स्कोर बनायो, जवाफमा नयाँ दिल्ली ११२ रनमा अलआउट भयो। आसामका अरुन सोनार म्यान अफ द म्याच भए।
प्रतियोगिता उद्घाटन गत बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो। शुक्रबार आसाम र भद्रपुर, र काठमाडौँ र नयाँ दिल्लीबीच खेल हुने आयोजकले जानकारी दिएको छ।


















