झापा, साउन २७ । झापाको भद्रपुर नगरपालिका–५ मेचिपुल नजिक प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

अन्दाजी साँझ ५:४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ७ प २८९१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा भद्रपुर नगरपालिका–७ गार्मेन्ट चोकका २९ वर्षीय सागर पौडेललाई शंका लागेपछि तलासी लिइएको थियो।

तलासीका क्रममा पौडेलको मलद्वारभित्र लुकाइराखिएको ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक बाहेक उक्त पदार्थको तौल करिब ५ ग्राम ७ मिलिग्राम रहेको छ।
प्रहरीले मोटरसाइकलसहित पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाएको जनाएको छ।