भद्रपुर, झापा । झापास्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा १५ वर्षपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कोशी पाथीभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप माघ २१ गतेदेखि सञ्चालन हुने भएको हो।
भद्रपुर क्रिकेट क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको जानकारी दिएको छ। कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) ले क्रिकेट पिच, मैदान, बाँसको प्यारापिट, स्कोर बोर्ड, पेभिलियनलगायत पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको बताए।
उनका अनुसार करिब आठ हजार दर्शक अट्ने क्षमताको यो मैदानमा प्रतियोगिता अवधिभर दर्शकबाट कुनै पनि गेट शुल्क लिइने छैन। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपालतर्फ आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्ड्स युथ क्लब डडेलधुरा, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाड सहभागी हुनेछन्।
भारततर्फ राइनोल्यान्ड क्रिकेट एकेडेमी (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (नयाँ दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन्। नेपाली टोलीमा राष्ट्रिय टोली बाहेक एनपीएल खेलिसकेका खेलाडी तथा भारतीय टोलीमा रणजी ट्रफी खेलिरहेका खेलाडीको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए।
प्रतियोगिताको कुल लागत एक करोड २२ लाख रुपैयाँ अनुमान गरिएको छ। विजेता टोलीले नगद पाँच लाख रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याच ले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन्। उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। उदीयमान खेलाडीले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले बताए।
यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि सम्झौता भएको थियो। संघका तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसका तत्कालीन प्रमुख टीका प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसपछि संघले क्रिकेट पिच निर्माण गरिदिएको थियो।
मैदान तयारीपछि २०६७ फागुनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो, जसको उपाधि नेपाल सशस्त्र प्रहरी बलले जितेको थियो। त्यसपछि लामो समयसम्म प्रतियोगिता नहुँदा मैदान जीर्ण अवस्थामा पुगेको थियो।
मैदान पुनः सञ्चालनमा ल्याउन स्थानीय उद्योगी, व्यवसायी, जनप्रतिनिधि र खेलप्रेमीहरूको पहलमा २०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरिएको थियो। क्लबले मेची बहुमुखी क्याम्पससँग १९ बुँदे सम्झौता गरी क्रिकेट मैदान २५ वर्षका लागि लिजमा लिएको क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए। उनका अनुसार काँसघारी बनेको मैदानलाई दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सक्ने अवस्थामा पुर्याइएको हो।
कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा विभिन्न दाताको सहयोगमा निर्माण गरिएको यो क्रिकेट मैदान कोशी प्रदेशकै उत्कृष्ट पिचयुक्त मैदान भएको दाबी गरिएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले मैदानको संरक्षण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगरपालिकाले निर्माणाधीन पेभिलियन भवनका लागि १५ लाख रुपैयाँ बजेट छुट्याई सम्झौता गरिसकेको छ। नगर प्रमुख पोखरेलले नगरपालिकाले यस मैदानको भौतिक संरचना निर्माणमा निरन्तर सहयोग गर्दै आएको र प्रतियोगितालाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
