झापा । झापा भद्रपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गएका प्रहरीलाई अवरोध गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ का सन्तोष श्रेष्ठको घरमा ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा आइतबार दिउँसो प्रहरी टोली खटिएको थियो।

टोलीले खानतलासी र पक्राउ गर्ने क्रममा त्यही वडाका ५२ वर्षीय शम्भु राईले हातमा खुकुरी बोकी सार्वजनिक स्थलमा हिँड्दै स्थानीय महिला र वृद्धलाई आतंकित पार्नुका साथै प्रहरीको बाटो छेकेका थिए।
प्रहरीका अनुसार उनले अपशब्द प्रयोग गर्दै अनावश्यक हैरानी दिएको आरोपमा नियन्त्रणमा लिइएको हो। उनलाई सोमबार जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।