भद्रपुर विमानस्थलमा बुद्ध एयरको ATR–72 जहाज दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल
चन्द्रगढी ।झापाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एक जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। प्रहरीका अनुसार जहाज रन–वे ओभर रन भई पूर्वतर्फ करिब ३०० मिटर तल भासिँदा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरणअनुसार मिति २०८२/०९/१८ गते राति करिब २१:१० बजे काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ (ATR–72) जहाज अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो। जहाजमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए।
प्रहरीका अनुसार दुर्घटनापछि सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालिएको छ। प्रारम्भिक रूपमा मानवीय क्षतिको विवरण नआएको र त्यसबारे तत्काल बुझ्ने कार्य भइरहेको जनाइएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जहाज रन–वेभन्दा बाहिर पुगे पनि सबै यात्रु र चालक दल सुरक्षित रहेको पुष्टि गरे। तर, जहाजमा भने क्षति पुगेको उनले बताए।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक (प्रउ) राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र विमानस्थल सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको जनाइएको छ।
प्रहरीका अनुसार उक्त जहाज काठमाडौँबाट राति २०:२३ बजे चन्द्रगढीका लागि उडेको थियो। घटनाको कारणबारे प्राविधिक तथा सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

















