हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको छ:शेखर कोइराला

लहान , नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भन्नुभयो, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु ।”

Advertisement

गलत प्रवृत्तिबाट काँग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिनुहुँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Advertisement

काँग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले भन्नुभयो, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।”

डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।” सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उहाँले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाउनुभयो ।

सोही पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताउनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)