बेङ्गलुरु, भारत । शुक्रबार बिहान भारतको कर्नाटका राज्यस्थित बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा बम राखिएको दाबी गर्दै अज्ञात स्रोतबाट धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन्।

धम्कीमा विद्यालयका कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको उल्लेख गरिएको थियो। इमेल प्राप्त भएपछि स्थानीय प्रहरी प्रशासन, बम डिस्पोजल टोली, र तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली तुरुन्तै सम्बन्धित विद्यालयहरूमा पुगेर व्यापक खोजी अभियान सञ्चालन गर्यो। यद्यपि हालसम्म कुनै पनि विद्यालयमा विस्फोटक पदार्थ फेला परेको छैन।

घटनाले विद्यालय प्रशासन, विद्यार्थीहरू र अभिभावकहरूबीच ठूलो डर र त्रासको माहोल सिर्जना गरेको छ। धेरै विद्यालयहरू तत्काल खाली गराइएका थिए भने अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षाबारे चिन्तित बनेका थिए।
सुरक्षा स्रोतहरूका अनुसार, यस्ता धम्कीहरूले सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ। केही दिनअघि मात्रै दिल्ली र अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीपूर्ण सन्देशहरू प्राप्त भएका थिए।
गत वर्ष पनि भारतका विभिन्न सहरमा नक्कली बम धम्कीहरूमार्फत विद्यालय, अस्पताल, होटल र विमानस्थलहरूमा त्रास फैलाइएको थियो। यस पटकको घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार धम्की दिने व्यक्तिलाई चाँडै पत्ता लगाएर कडा कानुनी कारबाही गरिनेछ।
यसबीच, विद्यालय प्रशासनहरूलाई सतर्क रहन र अभिभावकहरूसँग निरन्तर समन्वय गर्न आग्रह गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।