भद्रपुर / कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । तेश्रो प्रभावित मुलुक रहेको भारतमा ब्राजिलमा भन्दा बढी संक्रमित पहिचान भएपछि अमेरिका पछिको दोश्रो प्रभावित देश बनेको हो ।
भारतमा अहिलेसम्म ४२ लाख ४ हजार ६१३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस अघि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ४१ लाख ३७ हजार ६०६ जना संक्रमित भएका छन् । पछिल्लो हिजो मात्र भारतमा ९१ हजार भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको थियो । संक्रमण तिब्रगतिमा फैलिरहेको भारतमा सरकारले मानवीय गतिविधि सहज बनाउदै लगेको छ ।
मंगलबारबाट भारतको राजधानी दिल्लीमा मेट्रो रेलसमेत सञ्चालन हुन थालेको छ । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो ।
भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा रहेको छ ।
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६ हजार ६५० जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा ६४ लाख भन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने त्यहाा १ लाख ९३ हजार २५० जनाको मृत्यु भएको छ ।

















