बिर्तामोड, फागुन ४: मछिन्द्र फुटबल क्लब काठमाडौँले एपिएफ फुटबल क्लब लाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को उपाधि जितेको छ। अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो।
उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। यो वर्ष नेपालकै सबैभन्दा बढी पुरस्कार राशि रहेको प्रतियोगिता झापा गोल्डकप हो।
खेलको प्लेयर अफ द म्याच मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ चुनिए। उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए।
यसैगरी, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल तथा सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए। उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
टिकट लिएर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले यामाहा कम्पनीको एक थान स्कुटर हात पारिन्।
खेलको ३१औँ मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो। प्रदीप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए। पहिलो हाफमा लगातार दबाब बनाएको मछिन्द्रले ४५औँ मिनेटमा दोस्रो गोल थप्यो। देवेन्द्र तामाङको लामो प्रहारमा फ्रयाङ्क अनोह गोल गर्न सफल भएका थिए।
८३औँ मिनेटमा अयोला हमजातको कर्नर प्रहारमा डिफेन्डर अलिसन अलिजोनोभले गोल गर्दै मछिन्द्रलाई ३–० को स्थितिमा पुर्याए।
पहिलो हाफमा २–० ले पछि परेको एपिएफले दोस्रो हाफमा दबाब बढाएको थियो। ८२औँ मिनेटमा विश्वास उदासको फ्रिकिक क्लियर गर्न नसकिएको अवस्थामा दीपेश धिमालले सुन्दर गोल गर्दै अन्तर घटाए।
७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफ १० खेलाडीमा सीमित बनेको थियो।
यस अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११सहित भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी तथा मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको थियो।
विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ का अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल तथा आयोजक समितिका अध्यक्ष केदार गिरीलगायतले पुरस्कार वितरण गरेका थिए।


















