क्वालालम्पुर । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो ।
शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने तयारी भइरहेको बताउनु भएको थियो ।
‘सरकार जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सचेत छ । त्यसैले, म यो घोषणा गर्न चाहन्छु कि प्रतिमहिना १५ सय रिंगेट न्यूनतम पारिश्रमिक आगामी मे १ बाट देशव्यापी रूपमा सुरु हुनेछ’, शनिबार उमनोको साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री साबरीले भने ।
श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणासँगै नेपाली श्रमिकहरु समेत लाभान्वित हुने भएका छन भने उनीहरुको न्यूनतम पारिश्रमिक साढे त्रिचालीस हजारको हाराहारीमा पुग्ने देखिन्छ ।

















