जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र आस्थाका साथ मनाइने चैती छठ पर्व अन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ। गत आइतबारदेखि सुरु भएको यस पर्वको समापन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि हुनेछ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ का रूपमा व्रतालुहरूले नुहाएर चोखो भोजन गर्ने चलन छ। त्यसपछि पञ्चमीका दिन ‘खरना’ मनाइन्छ, जसमा दिनभर निराहार उपवास बसेका व्रतालुहरूले साँझ षष्ठी मातालाई प्रसाद चढाएर भोजन गर्छन्। प्रसादमा खीर, दूध, केरा तथा अन्य फलफूल चढाइने गरिन्छ।
आज सन्ध्या अर्घ्यका लागि व्रतालुहरू दिउँसोदेखि नै पोखरी तथा जलाशयतर्फ जाने गरेका छन्। सूर्य अस्ताउनुभन्दा करिब एक घण्टा अगाडि नै जलमा प्रवेश गरी सूर्य देवको उपासना गर्दै अर्घ्य अर्पण गरिन्छ। अर्घ्यमा मुला, उखु, नरिवल, केरा, ठकुवा लगायतका सामग्री समावेश गरिन्छ।
सन्ध्या अर्घ्यपछि व्रतालुहरू रातभर जाग्राम बस्ने परम्परा रहेको छ। भोलिपल्ट चैत्र शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिन्छ।
चैती छठका अवसरमा जनकपुरधामका गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका जलाशयहरूमा श्रद्धालुहरूको उपस्थिति देखिएको छ भने गाउँगाउँमा पनि पर्व धुमधामका साथ मनाइँदैछ। कार्तिक महिनामा मनाइने छठजत्तिको भीड नभए पनि पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या बढ्दै गएको स्थानीयहरूले बताएका छन्।


















