झापाको मेचीनगर नगरपालिका–६ स्थित संगिता चोक क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। २०८२ साल चैत २४ गते दिउँसो साढे ३ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका कमल गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्षीय नवराज भट्टराईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले भट्टराईमाथि शंका लागेर शरीर खानतलासी गर्दा उनको साथबाट प्लास्टिक बाहेक ६ ग्राम ७५० मिलिग्राम तौल भएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो। बरामद गरिएको उक्त अवैध पदार्थसहित भट्टराईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। लागूऔषधको ओसारपसार र कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

















