कचनकवल, झापा — मुलुकको सानो गाउँपालिकाका रूपमा रहेको कचनकवलमा मेची नदीमाथि निर्माण गरिएको ४४२.४० मिटर लामो झोलुङ्गे पुल अब नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदैछ। सङ्घीय सरकारले रु ४ करोड १२ लाख २९ हजार खर्चमा बनाएको उक्त पुलले स्थानीय बासिन्दा र दुवै देशका पर्यटकलाई सहज आवतजावतको सुविधा दिएको छ।
कचनकवल-५ का वडाध्यक्ष नुर आलमका अनुसार, ‘मेची नदी पार गर्न अब दुवै मुलुकका नागरिकलाई सहज भएको छ। पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ।’ पुल निर्माण सम्झौता विसं २०७३ मङ्सिर १७ मा नीलगिरि महावीर जेभीसँग भए पनि बजेट अभावले सम्पन्न हुन समय लागेको थियो।

पहिले यहाँ पुल नहुँदा स्थानीयले बर्खायाममा दुई घण्टा पालो कुर्नु पर्थ्यो र काठको डुङ्गाबाट नदी पार गर्नु पर्थ्यो। स्थानीय झट्टु हलुवाईंले भने, ‘मेचीमा पुल बनोस् भन्ने वर्षौंदेखिको चाहना अहिले पूरा भएको छ।’
पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी नेपाली भू-भाग पर्छ भने भारततिर पाठामारी बजार छ। चाडपर्वलाई लक्षित गर्दै गत भदौ ३१ गते पुल सञ्चालनमा आएको छ। हाल पैदल र साइकल यात्रीका लागि खुला रहेको पुलको पहुँच मार्गको स्तरोन्नति पछि एक महिनाभित्र मोटरसाइकल आवतजावतको लागि समेत तयार हुने वडाध्यक्ष आलमले बताए।
उनका अनुसार, नेपालको होचो भू-भाग भएकाले कचनकवल क्षेत्र पर्यटकीय केन्द्र बन्ने सम्भावना छ। यहाँका पोखरी, गन्धर्व बस्ती र झोलुङ्गे पुलको प्रचार-प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ। फोटो /नवीन उप्रेती