झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार राति करिब १० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारेकेटमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ का करिब ४० वर्षीय चेतन कटुवाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो, जहाँ राति करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशिनाथ पौडेल घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















