काठमाडौँ, २३ भाद्र २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको घटनालाई ‘नेपाली इतिहासको सबैभन्दा कालो दिन’ भन्दै वर्तमान सरकारलाई तत्काल छोड्न चेतावनी दिएका छन्।
नक्खु कारागारबाट निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले वर्तमान सरकारलाई आततायीको संज्ञा दिँदै कठोर अपील गरेका छन्। उनले कुशासन र भ्रष्टाचारका नेताहरूले १९ भन्दा बढी विद्यार्थीको ज्यान लिएको आरोप लगाउँदै भने,
“स्कुले पोशाकमा रहेका निर्दोष बालबालिकामाथि गोली चलाइयो। यो केवल क्रुरता होइन, इतिहासकै कलंक हो।”
लामिछानेका चार बुँदे माग
१. सकेसम्म छिटो जेनजीसहित अन्तरिम नागरिक सरकार गठन।
२. २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा र उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन।
३. संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि संसदमा अनुमोदन हुने विज्ञ समिति।
४. भदौ २३ को घटनाको न्यायिक छानबिन आयोग गठन, जसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको जिम्मेवारी तोक्ने।
लामिछानेले रास्वपाका सांसदलाई सचेत गर्दै भने कि माग पूरा नभए संसदबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ।
उनले मृतक विद्यार्थी परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे। साथै आन्दोलनलाई शान्तिपूर्ण तर क्रान्तिकारी बनाइरहन सबैमा संयमित रहन आग्रह गरेका छन्।
“यो क्रान्ति केवल आततायीलाई दण्डित गर्न होइन, देश परिवर्तन गर्न पुग्नुपर्छ। नत्र जेनजीको बलिदान खेर जानेछ।”
सन्देशमा उनले गृह मन्त्रालयमा छाडिएका २५ वटा अनुसन्धान सूचीको स्मरण गराउँदै ती फाइलहरू नागरिकले खोजी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।सचिवालयका अनुसार, सोमबार दिउँसो लामिछानेसँग नक्खुमा हुने सबै भेटघाट र फोन सम्पर्क सम्पूर्ण रूपमा बन्द गरिएको छ।







