- देशबन्धु क्षेत्री
राजनीति कुनै पद, प्रतिष्ठा वा सत्ताको खेल मात्र होइन। राजनीति मूलतः विचारको संगठन हो। विचार बिना पार्टी शरीर हो, तर आत्मा हुँदैन। आत्मा बिना शरीर हिँड्न सक्छ, तर दिशा पाउँदैन। त्यसैले इतिहासले बारम्बार प्रमाणित गरेको सत्य के हो भने—जुन दिन पार्टीले विचारलाई परित्याग गर्छ, त्यही दिनदेखि त्यसको पतनको उल्टो गणना सुरु हुन्छ।
आज हाम्रो राजनीतिक परिवेशलाई नियाल्दा यही यथार्थ झन् स्पष्ट देखिन्छ। पार्टीहरू छन्, झण्डा छन्, नाराहरू छन्, सभा–सम्मेलन छन्, तर विचार छैन। सिद्धान्त छैन। दृष्टिकोण छैन। परिणामतः जनता अन्योलमा छन्, देश दिशाहीन छ, र नेतृत्व अवसरवादी बनेको छ।

पार्टीहरू विचारका लागि होइन, चुनावका लागि बनेका जस्ता देखिन्छन्। विचारहरू घोषणापत्रका पानामा सजावट मात्र भएका छन्—आभूषणजस्तै छन। चुनाव सकिएपछि ती कागजका पानासँगै फालिन्छन्। यस्तो अवस्थामा पार्टी रहन्छ, तर राजनीतिक चरित्र समाप्त हुन्छ।
विचारविहीनताको संकट
विचार कुनै पार्टीको बोझ होइन, शक्ति हो। तर आजका धेरै दलका लागि विचार बोझ बनेको छ। सिद्धान्त पालना गर्दा सम्झौता गर्न गाह्रो हुन्छ, त्यसैले उनीहरू सिद्धान्तलाई नै छाडिदिन्छन्। जनताको पक्षमा उभिनुपर्ने ठाउँमा उनीहरू सत्ताको पक्षमा उभिन्छन्। नीति भन्दा पद ठूलो हुन्छ, चरित्र भन्दा गठबन्धन ठूलो हुन्छ।
यसले राजनीति बजारजस्तै बनाएको छ—जहाँ विचार किन्न र बेच्न मिल्छ। आज एक विचार, भोलि अर्को विचार। आज यो गठबन्धन, भोलि अर्को गठबन्धन। कुनै स्थिरता छैन, कुनै प्रतिबद्धता छैन।
यस्तो अवस्थाले राजनीतिलाई पेशा बनायो, सेवाभाव होइन। नेतृत्व व्यवसायी भयो, जनप्रतिनिधि होइन।
व्यक्तिवादको उन्माद
जब पार्टी विचारलाई बोक्न असमर्थ हुन्छ, त्यहाँ व्यक्तिको प्रधानता स्थापित हुन्छ। संगठन भन्दा व्यक्ति ठूलो बन्न थाल्छ। पार्टीको निर्णय भन्दा नेताको इच्छा बलियो हुन्छ। यस्तो अवस्थामा लोकतन्त्र होइन, व्यक्तिवाद जन्मिन्छ।
हामीले देखिरहेका छौं—कुनै पार्टी एउटा व्यक्तिको नाममा सीमित हुन्छ, कुनै पार्टी एउटा परिवारको सम्पत्ति बन्छ। संगठनभित्र बहस, आलोचना र आन्तरिक लोकतन्त्र समाप्त हुन्छ। असहमति जनाउनेलाई शत्रु जस्तो व्यवहार गरिन्छ।
यो अवस्था खतरनाक किन हो भने, व्यक्तिको सोच सीमित हुन्छ, तर विचार सामूहिक हुन्छ। व्यक्ति गल्ती गर्न सक्छ, विचारले सच्याउँछ। तर जब विचार नै हटाइन्छ, गल्तीहरू निरन्तर दोहोरिन्छन्।
व्यक्तिवादले अन्ततः तानाशाही प्रवृत्ति जन्माउँछ—जहाँ पार्टी होइन, व्यक्तिको पूजा हुन्छ। राजनीति विचारबाट हटेर भावनात्मक भीड व्यवस्थापनमा सीमित हुन्छ। यहीँबाट लोकतन्त्र कमजोर हुन्छ।
सिद्धान्तहीन दलको परिणाम
सिद्धान्तहीन दलले के गर्छ?
नीतिहीन निर्णय गर्छ
अवसरवादलाई प्राथमिकता दिन्छ
भ्रष्टाचारलाई संरक्षण गर्छ
जनताको विश्वास गुमाउँछ
आज जनता राजनीतिबाट निराश हुनुको कारण यही हो। चुनावमा नयाँ अनुहार देखिए पनि प्रवृत्ति उस्तै छ। भाषण बदलिन्छ, व्यवहार बदलिँदैन।
यस्तो दलहरूले राष्ट्रलाई अगाडि लैजान सक्दैनन्, किनकि उनीहरूसँग कुनै दीर्घकालीन योजना हुँदैन। पाँच वर्षको सत्ता बाहेक उनीहरूलाई भविष्य देखिँदैन। राष्ट्र निर्माण निरन्तरता माग्छ, तर अवसरवादले निरन्तरता दिन सक्दैन।
विघटन नै समाधान
यदि कुनै पार्टी विचार बोकेर हिँड्न सक्दैन भने, त्यसको अस्तित्व नै व्यर्थ हुन्छ। यस्तो पार्टीलाई बचाइराख्नु राष्ट्रका लागि बोझ मात्र हो। इतिहासमा धेरै दलहरू आएका र गएका छन्। समयसँगै विचारहीन संरचना आफैँ ढल्छन्।
कहिलेकाहीँ विघटन पनि उपचार हो। रोग लागेको अंग काटेर फाल्नुपर्छ भने जस्तै, विचारविहीन दलहरू समाप्त हुनु आवश्यक हुन्छ। त्यसले नयाँ सोच, नयाँ संगठन र नयाँ ऊर्जा जन्माउँछ।
जनतालाई पनि अब झण्डा र नाम होइन, विचार र चरित्रको आधारमा निर्णय गर्नुपर्छ।
क्रान्तिकारी दलको आवश्यकता
राष्ट्रलाई दिशाहीन अवस्थाबाट निकाल्न एउटै विकल्प छ—विचारमा आधारित क्रान्तिकारी दल निर्माण गर्नु हो।
क्रान्तिकारी भन्नाले हिंसा होइन, गहिरो रूपान्तरण बुझ्नुपर्छ। संरचनागत परिवर्तन, मूल्यको परिवर्तन, संस्कारको परिवर्तन हो। यस्तो दलले निम्न विशेषता बोक्नुपर्छ:
१. स्पष्ट विचारधारा
दलसँग राष्ट्रको भविष्यबारे स्पष्ट दृष्टिकोण हुनुपर्छ—आर्थिक नीति के? शिक्षा कस्तो? स्वास्थ्य व्यवस्था कस्तो? संघीयता कसरी सुदृढ गर्ने? विदेश नीति कस्तो? अस्पष्ट नाराले होइन, ठोस योजना चाहिन्छ।
२. आन्तरिक लोकतन्त्र
नेता होइन, संगठन सर्वोच्च हुनुपर्छ। निर्णय बहसबाट हुनुपर्छ। आलोचनालाई सम्मान गर्नुपर्छ।
३. नैतिक नेतृत्व
भ्रष्टाचारमुक्त चरित्र, सादगीपूर्ण जीवन, जनतासँग प्रत्यक्ष सम्बन्ध—यस्ता गुण बिना क्रान्तिकारी नेतृत्व सम्भव छैन।
४. जनआधारित संगठन
सामाजिक आन्दोलन, श्रमिक, किसान, युवा, महिला—सबैको सहभागिता हुनुपर्छ। कार्यालयभित्र सीमित दल कहिल्यै परिवर्तनकारी हुँदैन।
५. दीर्घकालीन प्रतिबद्धता
सत्ता प्राप्ति लक्ष्य होइन, साधन मात्र हो। लक्ष्य राष्ट्र निर्माण हुनुपर्छ।
सक्षम नेतृत्वको अर्थ
सक्षम नेतृत्व भनेको करिश्मा होइन, क्षमता हो। ठूलो भाषण होइन, ठूलो काम हो। फोटो खिचाउने शैली होइन, परिणाम दिने शैली हो।
सक्षम नेतृत्वले संकटमा निर्णय गर्छ, दबाबमा झुक्दैन, राष्ट्रहितलाई व्यक्तिगत हितभन्दा माथि राख्छ। उसले जनतालाई सपना मात्र देखाउँदैन, बाटो पनि देखाउँछ।
हामीलाई आज यस्तै नेतृत्व चाहिएको छ—जो सत्ता होइन, जिम्मेवारी बुझोस्।
निष्कर्ष
पार्टीहरू विचार त्याग्दै गइरहेछन, व्यक्तिवाद बढ्दै गइरहेछन, र राष्ट्र अन्योलमा फस्दै गइरहेको छ। यो अवस्थाबाट मुक्त हुन अब आधा–अधुरा सुधारले पुग्दैन। मौलिक परिवर्तन आवश्यक छ।
विचारविहीन दलहरूको विघटन र विचारसम्पन्न क्रान्तिकारी दलको निर्माण नै आजको ऐतिहासिक आवश्यकता हो। यदि हामीले आज पनि चेतनालाई जगाएनौं भने भविष्य पुस्ताले हामीलाई माफ गर्ने छैन।
राजनीति फेरिनुपर्छ।
