हिमाली (बझाङ) — बुधबार राति आएको बाढीले हिमाली गाउँपालिका–१ को विच्छ्या क्षेत्रमा ठूलो जनधन क्षति पुर्याएको छ। विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाका १, ३ र ५ नम्बर वडामा सबैभन्दा बढी असर पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिएका छन्। उनका अनुसार बाढीले ११ घर पूर्ण रूपमा बगाएको छ भने सात घरमा क्षति पुगेको र १७ घर उच्च जोखिममा रहेका छन्। कवाडी प्रहरी चौकीको टोलीले प्रभावित क्षेत्रमा पुगेर तथ्याङ्क सङ्कलन गरेको हो।

वडा नं. १ मा नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ। त्यस्तै वडा नं. ५ मा नवराज बुढा, देवीलाल चदारा, विरबल चदारा, अजय चदारा, हिउँसरा ल्वार र अङ्गविर चदाराको घर बगाएको छ। यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घरसमेत बाढीले बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन्।

बाढीका कारण वडा नं. १ का सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा र बलचन्द्र थापाको घर उच्च जोखिममा रहेका छन्। स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीको जोखिममा छ।
प्राकृतिक विपत्तिका कारण सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ। वडा नं. १ कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनका पानी घट्ट अहिले जोखिममा रहेका छन्।
बाढीपछिको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाका अनुसार अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा पुगेर क्षति र प्रभावित अवस्थाको प्रत्यक्ष अनुगमन गरेको छ।