बिर्तामोड, फागुन २ । विदेशी स्ट्राइकर जोनाथन जोरिल्लाको ह्याट्रिकमा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
मछिन्द्रले उपाधिका लागि एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको चौथो मिनेटमै अयोला हमजातको क्रसमा डिबक्सभित्र अनमार्क रहेका जोरिल्लाले वान–टच गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। २४औँ मिनेटमा जोरिल्लाकै फ्रिकिक आर्मीका खेलाडीको हातमा लागेपछि पेनाल्टी दिइएको थियो। उनले नै पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफ २–० ले अघि रहेको मछिन्द्रले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। ५२औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा जोरिल्लाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। अतिरिक्त समयमा सब्सिच्युट रेजिन सुब्बाले दुई डिफेन्डरलाई बिट गर्दै एकल प्रयासमा गोल थपेपछि मछिन्द्रको जित फराकिलो बनेको हो।
आर्मीको प्रदर्शन भने फितलो देखियो। नवौँ मिनेटमा नविन लामाको फ्रिहेडर बारमाथिबाट बाहिरियो भने ७०औँ मिनेटमा दिनेश हेन्जनले पाएको अवसर सदुपयोग गर्न सकेनन्।
खेलको ‘प्लेयर अफ द म्याच’ जोरिल्ला घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताभर प्लेयर अफ द म्याच पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीहरूले उपलब्ध गराउँदै आएका छन्।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। फाइनल खेल फागुन ४ गते हुनेछ।


















