हल्दिबारी, साउन २९ । सरकारले ल्याएको शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा हल्दीबारी गाउँपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेका छन्।

शिक्षा विधेयकमा निजी विद्यालयका मागहरू सम्बोधन नगरेको भन्दै केन्द्रीय स्तरमा सुरु भएको चरणबद्ध आन्दोलनलाई एकता जनाउँदै हल्दीबारी प्याब्सन र एनप्याब्सनले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा शिक्षा अधिकृतलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिंगदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली तथा शिक्षा प्रमुख जनकुमारी राईलाई ज्ञापनपत्र बुझाइएको थियो। उक्त ज्ञापनपत्र हल्दीबारी प्याब्सनका प्रमुख सल्लाहकार पुष्पलाल खरेलले प्रस्तुत गरेका थिए भने अध्यक्ष याम दंगाल र हल्दीबारी एनप्याब्सनका प्रतिनिधि दुर्गामणि गौतमले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा हल्दीबारीभित्रका सम्पूर्ण संस्थागत विद्यालयका संस्थापक, प्रिन्सिपल तथा सञ्चालकहरू पुष्पलाल खरेल, नरेश पराजुली, दुर्गामणि गौतम, मोहन बेघा, त्रिलोचन भण्डारी, जनकलाल राजवंशी, दिपक तिवारी, नितेश खरेल, प्रल्लाद सिलवाल, साथै जनप्रतिनिधि सुनिल बाराकोटी र समाजसेवी मदन मगर लगायतको उपस्थिति रहेको थियो।
ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष लिंगदेनले निजी विद्यालयका चिन्ताहरू सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।