हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १२ महिना अगाडि

संसद् बैठकमा सिटौलाको रोष : “कर्मचारीले मन्त्रिपरिषद् नियन्त्रण गर्न खोज्न पाइँदैन”

विनोद दाहाल ,काठमाडौँ । बुधबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा एक अनौठो दृश्य देखियो। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद कृष्णप्रसाद सिटौला असाधारण रूपमा आक्रोशित देखिए।

Advertisement

सामान्यतः शान्त छविमा देखिने सिटौलाले समितिको बैठकमै कडा प्रतिवाद गरेपछि सहभागी सांसदहरू समेत आश्चर्यचकित बने। समितिमा जलश्रोत विधेयक, २०८१ को मस्यौदामाथि छलफल भइरहेको थियो।

Advertisement

छलफलका क्रममा उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शिशिर कोइरालाले नदीनालाको पानी उपयोग गर्न सरकारलाई पनि जल तथा उर्जा आयोगसँग अनुमति लिनुपर्ने अभिव्यक्ति दिएका थिए। कोइरालाले स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो मनोमानी ढंगले जलस्रोत उपयोग गर्न थाले नियन्त्रण बाहिर जाने भन्दै त्यसका लागि आयोगलाई निर्णय दिने अधिकार हुनुपर्ने धारणा राखेका थिए।

तर कोइरालाको यो अभिव्यक्तिलाई लिएर सिटौला एकाएक आक्रोशित बने। उनले तीव्र प्रतिवाद गर्दै कर्मचारीतन्त्रले मन्त्रीपरिषद्लाई नियन्त्रण गर्ने प्रयास सह्य नहुने चेतावनी दिए।

सिटौलाले उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई संकेत गर्दै भने, “आफ्ना कर्मचारीलाई सिकाएर पठाउनुस्। मन्त्रीपरिषद्लाई नियन्त्रण गर्ने तपाइँहरू को? के ब्युरोक्रेसीले मन्त्रीपरिषद् निर्माण गर्ने हो? संविधानले व्यवस्था गरेको प्रणालीलाई कर्मचारीले तोडमोड गर्ने? यस किसिमको प्रस्तुति सह्य हुँदैन।”

सिटौलाले सरकारी कर्मचारीतन्त्रबाट संसद् र मन्त्रीपरिषद्लाई नियन्त्रण गर्ने मानसिकता स्वीकार्य नहुने स्पष्ट पारे।

उनले थपे, “हामी सिंगारपटार गर्न, सारी किन्न यहाँ आएका हैनौँ। कर्मचारीतन्त्रले मन्त्रिपरिषद्लाई नियन्त्रण गर्न खोज्न पाइँदैन।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)