हल्दीबारी वडा नं-४ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड जलथलले आज एक विशेष कार्यक्रमका बीच आफ्नो १६ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वनले दीप प्रज्वलन तथा ब्यानरवाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रशासन शाखाका प्रमुख बाबुराम ढकाल महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, जलझल स्वास्थ्य चौकीकी प्रतिनिधि चन्द्रा पोखरेल सामाजिक अभियन्ता अभिषेक खतिवडा साना किसानमा आबद्ध सहकारी कर्मी, सहकारीका सेयर सदस्य, कर्मचारी तथा सरकारवालाहरूको उपस्थिति रहेको थियो।
संस्थाले वार्षिक उत्सवको अवसर पारेर दूध संकलन गर्ने केन्द्रहरूबाट विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको थियो। जसमा गोलधाप दूध संकलन केन्द्रबाट गंगादेवी बास्तोला, मंगलाबारे दुध सङ्कलन केन्द्रबाट रामप्रसाद ढकाल, अधिकारी चोक दुध संकलन केन्द्रबाट सागर राई, बालुवा चोक दुध सङ्कलन केन्द्रबाट सीता मेचे,र लक्ष्मीचोक दुध सङ्कलन केन्द्रबाट अनिता पुरीलाई सम्मान गरिएको थियो। साथै कार्यक्रममा उत्कृष्ट अन्तरसमूहका रूपमा कन्टरघुट्टु अन्तरसमुह सम्मानित भएको थियो।
कार्यक्रममा माछापालन गर्नुहुने कृषक अन्जना प्रसाई, तरकारी व्यवसायिक रूपमा खेती गर्नुहुने कृषक देवीमाया चौहान, बाख्रा पालन गर्नुहुने कृषक भोमादेवी दङ्गाल, बङ्गुर पालन गर्नुहुने कृषक विरता राई हरूलाई सम्मान गरिएको थियो।
साथै संस्थाले शैक्षिक रूपान्तरणको अभियानमा सहयोग गर्ने हेतुले एसईई परीक्षा २०८१ मा उत्कृष्ट अङ्क ल्याउने
हल्दीबारी माध्यमिक विद्यालयका विद्यार्थी सुशील रेग्मी र सेन्मी राईलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण चन्द्र अधिकारी, सामाजिक अभियन्ता अभिषेक खतिवडा ,जलथल स्वास्थ्य चौकीकी प्रतिनिधि चन्द्रा पोखरेल लगायतले साना किसानले समाज रूपान्तरण र परिवर्तनको अभियानमा खेलेको भूमिका अनुकरणीय रहेको खुलेर तारिफ गरेको थिए।
संस्थाका अध्यक्ष खेसकुमारी वनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको विधिवत रूपमा सञ्चालन एवं सजीकरण तारा भट्टराई खतिवडाले गर्नुभएको थियो


















