हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिलगढी–चारआली पाइपलाइनको काम प्रारम्भ

भद्रपुर/झापाको चारआलीमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको छ । मेचीनगरपालिका–१३ स्थित चारआलीमा २३ बिघा क्षेत्रफलमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको हो ।विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया सुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार दुई सय ५० किलोलिटर हवाइ इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुनेछ । पेट्रोलियम पाइपलाइनको काम आगामी फागुनबाट सुरु हुने भएको छ ।

Advertisement

पचास किलोमिटर पाइपलाइनको काम सुरु गर्न सोमबार रुट पहिचान (सर्भे) सकिएको छ । करिब १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो । पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ ।

सर्भेअनुसार पाइपलाइन भारतको सिलगढीबाट पानीट्याङ्कीको दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । जमिनदेखि दुई मिटरमुनि पाइपलाइन बिछ्याइने छ ।

पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर बिछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनियर मसिनी खड्काले बताए । आइओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिए । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)