हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिवारी गाउँपालिका बजेट कार्यान्वयनमा अब्बल: चालु आर्थिक वर्षमा ८६.३४ प्रतिशत प्रगति, चालू र पूँजीगत खर्चको विस्तृत विवरण सार्वजनिक

हल्दीबारी, झापा । “हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि” भन्ने मूल संकल्पका साथ अघि बढेको झापाको हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, जलथलले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको आय-व्यय तथा बजेट कार्यान्वयनको अवस्थाबारे नागरिकलाई सुसूचित गराएको हो। सार्वजनिक विवरण अनुसार हल्दीबारीले समीक्षा अवधिमा समग्रमा ८६.३४ प्रतिशत बजेट खर्च गर्दै वित्तीय अनुशासन र विकास निर्माणमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ।

Advertisement

​गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार लक्षित कार्यक्रम र प्रशासनिक कार्यतर्फको चालू खर्च तथा पूर्वाधार विकासतर्फको पूँजीगत खर्च दुवैको प्रगति सन्तुलित र सन्तोषजनक देखिएको छ। चालू खर्चतर्फ गाउँपालिकाको दैनिक प्रशासनिक सञ्चालन, सेवा प्रवाह र लक्षित कार्यक्रमहरूका लागि विनियोजित कुल ३५ करोड ६६ लाख ४४ हजार ९११ रुपैयाँ ८२ पैसामध्ये ३१ करोड ४२ लाख ८७ हजार ११८ रुपैयाँ ५५ पैसा खर्च भएको छ, जुन कुल चालू बजेटको ८८.१२ प्रतिशत प्रगति हो। यसैगरी विकास निर्माण, भौतिक पूर्वाधार र दिगो विकासका आयोजनाहरूका लागि विनियोजित कुल १५ करोड ७५ लाख ३८ हजार ६५० रुपैयाँ पूँजीगत बजेटमध्ये १२ करोड ६८ लाख ८९ हजार ७३ रुपैयाँ खर्च भएको छ। विकास बजेटतर्फ ८२.३१ प्रतिशत खर्च हुनुलाई स्थानीय तहको विकास व्यवस्थापनमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। समग्र विवरणलाई हेर्दा पालिकाको कुल ५१ करोड ४१ लाख ८३ हजार ५६१ रुपैयाँ ८२ पैसाको वार्षिक बजेटमा ४४ करोड ११ लाख ७६ हजार १९१ रुपैयाँ ५५ पैसा खर्च भएको देखिन्छ।

Advertisement

​आर्थिक वर्ष २०८२/८३ का स्वीकृत बजेट तथा विकास कार्यक्रमहरूलाई सफलतापूर्वक एवं परिणाममुखी ढङ्गले सम्पन्न गर्न प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका खेल्ने सबै पक्षलाई गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले एक वक्तव्य जारी गर्दै योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न रचनात्मक सहजीकरण र अमूल्य योगदान पुर्‍याउने जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू, विकास साझेदार संस्थाहरू, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकर्मी एवं सम्पूर्ण गाउँवासी सरोकारवालाहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत वनका अनुसार गाउँपालिकाले आगामी दिनमा वित्तीय अनुशासनलाई अझ कसिलो बनाउने, जनमुखी सेवा प्रवाहलाई थप सुदृढ गर्ने र पालिकाको सर्वाङ्गीण समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यसका लागि आगामी दिनमा पनि आम नागरिक र सरोकारवालाहरूबाट निरन्तर सहकार्य, रचनात्मक पृष्ठपोषण र मार्गनिर्देशनको अपेक्षा राखिएको गाउँपालिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)