बिर्तामोड (झापा) — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालको भूमि मिचिएको भन्ने सार्वजनिक विषयमा सरकार र सम्बन्धित पक्षले अविलम्ब स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएका संवेदनशील विषयमा जिम्मेवार निकायले मौन बस्न नमिल्ने भन्दै आफ्नो धारणा तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
वर्तमान सत्ता गठबन्धन र सरकारको कार्यशैलीप्रति लक्षित गर्दै शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र सहभागितामा रहेको सरकारले पारदर्शी, जवाफदेही र सुशासनमुखी ढङ्गबाट आफ्ना कामकारबाही अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।
”जनतामा परिवर्तनको ठुलो आशा र भरोसा जगाएर सत्तामा पुगेकाहरूले आफ्ना हरेक निर्णय र गतिविधिलाई पारदर्शी बनाउनुपर्छ,” शर्माले भन्नुभयो, “सुशासन गफमा मात्र होइन, व्यवहार र काममा देखिनुपर्छ ।”
झापामा सम्पन्न उक्त बृहत् भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला तहका नेताहरू, स्थानीय तहका जनप्रतिनिधिहरूका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलामा सहभागी नेताहरूले पार्टी सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक रणनीतिलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा व्यापक छलफल गरेका थिए ।








