समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

सुनको कारोबारको बहानामा हत्या: झापामा योजनाबद्ध अपराधको पर्दाफास

झापा। झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षिय सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न सुनिल साह र राहुल साहलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट सरोज शर्माको हत्या योजनाबद्ध रूपमा गरिएको खुलेको छ।

विज्ञापन (Advertisement)Advertisement

सुनको कारोबारको बहानामा शर्मालाई अपहरण गरी हत्या गरिएको प्रहरीको भनाइ छ।काठमाडौंमा बस्दै आएका शर्मा सस्तोमा सुन पाइने जानकारी दिँदै आफैंले पनि खरिद गर्ने र चिनेजानेका मानिसलाई पनि किनिदिने प्रस्ताव गरेका थिए।

त्यही बहानामा स्थानीय सुनिल साह र उनका भान्जा राहुल साहले शर्मासँग भएको रकम लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ।गत कात्तिक ९ गते सुन ल्याएको भन्दै देखाउने बहानामा उनीहरू शर्मालाई अर्जुनधारा–४, दहिझोडा सामुदायिक वनमा लगेका थिए।

त्यहाँ, उनीहरूद्वारा टाउकोमा हथौडा प्रहार गरी उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।हत्या पछि शर्माको शव बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा राखी झापा गाउँपालिका–५ स्थित बिरिङ खोलाको पुलमुनि गाडिएको थियो।

त्यो गाडी भने कात्तिक १३ गते मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा जलेको अवस्थामा फेला परेको थियो।कात्तिक १५ गते राति बिरिङ खोलामुनि गाडिएको शव फेला परेपछि, अनुसन्धान तीव्र भएको थियो।

पक्राउ परेका दुवैले अपराध स्विकार गरेको प्रहरीले जनाएको छ, भने हत्यामा संलग्न अर्को भारतीय नागरिक फरार छन्। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

यस प्रकरणमा अपहरण, शरीर बन्धक, र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)