भद्रपुर (झापा), ३० चैत । जिल्ला समन्वय समिति झापाले जिल्लाका १५ स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने दुई स्थानीय तहलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समिति (जिसस) को कार्यालय, भद्रपुरमा आयोजित समारोहबीच आज हल्दिबारी गाउँपालिका र कन्काई नगरपालिकालाई प्रशंसापत्रसहित विशेष सम्मान गरिएको हो ।
जिससका सूचना अधिकारी विकास ढकालका अनुसार जिल्लाका सबै स्थानीय तहहरूको वस्तुगत सर्वेक्षण, असल अभ्यास तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हल्दिबारी र कन्काई उत्कृष्ट ठहरिएका हुन् ।
हल्दिबारी गाउँपालिकाले सेवा प्रवाहमा देखाएको सहजता, सुशासन प्रवद्र्धनमा निर्वाह गरेको भूमिका तथा विकास निर्माणमा हासिल गरेको उपलब्धिका लागि प्रशंसा गरिएको छ । त्यस्तै कन्काई नगरपालिकालाई योजना कार्यान्वयन र प्रशासनिक पारदर्शितामा देखाएको सक्रियताका आधारमा सम्मान गरिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख विश्वनाथ बरालले स्थानीय तहबीच समन्वय सुदृढ गर्न र असल अभ्यासको आदानप्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले उत्कृष्ट कार्य गर्ने पालिकालाई प्रोत्साहन गर्दा अन्य स्थानीय तहमा समेत सकारात्मक प्रतिस्पर्धा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रशासन र स्थानीय सरकारबीचको समन्वय बलियो हुँदा नागरिकले राज्यको उपस्थितिलाई प्रभावकारी रूपमा महसुस गर्ने उल्लेख गर्दै सम्मानित पालिकालाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो ।
स्थानीय तहका असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो ।


















