हल्दिबारी (झापा) — गर्मी र वर्षायामको सुरुवातसँगै डेङ्गु संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै झापाको हल्दिबारी बजार क्षेत्रमा सचेतना तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

​अभियानका क्रममा बजार क्षेत्र र आसपासका सम्भावित जोखिमयुक्त ठाउँहरूमा लामखुट्टेको बासस्थान पहिचान गरी ‘खोज र नष्ट गर’ अभियान चलाइएको थियो । सो अवसरमा स्थानीयबासीलाई डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट बच्ने उपाय र आफ्नो घरआँगन सफा राख्ने तरिकाबारे जानकारी गराइएको थियो ।

​सर्वसाधारणलाई महामारीबाट जोगाउन सञ्चालन गरिएको यस अभियानमा हल्दिबारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, योजना शाखा प्रमुख तथा स्वास्थ्य चौकी हल्दिबारी–२ का प्रमुखको उपस्थिति रहेको थियो । त्यस्तै, स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मीहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, स्थानीय सञ्चारकर्मी, गाउँपालिकाका कर्मचारी तथा प्रत्यक्ष सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो ।

​सचेतना कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूले डेङ्गुबाट बच्नका लागि आफ्नो घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी, टायर, तथा पुराना भाँडाहरू सफा राख्न स्थानीय समुदायलाई आग्रह गरेका छन् । स्वास्थ्य शाखाले आगामी दिनहरूमा पनि यस्ता रोकथामका सचेतना मुलक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार