बिर्तामोड, २९ चैत। झापाको बिर्तामोडमा सम्पन्न ‘प्रथम सन्थाल गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि हल्दिवारी एफसीले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल भिडन्तमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई सडनडेथमा पराजित गर्दै हल्दिवारीले ऐतिहासिक उपाधि चुमेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत लिइएको थियो । ट्राइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा हल्दिवारीका गोलरक्षकले आयोजकको प्रहार रोकेपछि हल्दिवारी १ लाख रुपैयाँसहितको पुरस्कार हात पार्न सफल भयो । उपविजेता बनेको आयोजक टोलीले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

खेलको ५५ औँ मिनेटमा हल्दिवारीका शिखर मर्डीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, निर्धारित समयपछिको थप गरिएको अतिरिक्त समयमा आयोजकका तर्फबाट श्याम मुर्मूले गोल गरेपछि खेल नाटकीय रूपमा बराबरीमा पुगेको थियो । खेलमा १ गोल गरेका हल्दिवारीका शिखर मर्डी नै ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका मिसन हस्दा ‘सर्वोत्कृष्ट खेलाडी’ चुनिए । त्यस्तै, आयोजककै श्याम मुर्मू सर्वाधिक गोलकर्ता बन्दा हल्दिवारी एफसीका दिनेश बेस्रा उत्कृष्ट गोलकिपर घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सांसद एवम् पूर्वमन्त्री एकराज कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले (मामा) लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत चैत २१ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार भव्य समापन गरिएको आयोजक समितिका संयोजक टिका हस्दाले जानकारी दिए ।
