हल्दीबारी – जेन्जी आन्दोलनको क्रममा गोली लागी घाइते भएका हल्दीबारी–२ निवासी २२ वर्षीय अनिश श्रेष्ठका परिवारले राज्यसँग उचित क्षतिपूर्ति र न्यायको माग गरेका छन्।
अनिशका बुबा मोहन श्रेष्ठले आन्दोलनका क्रममा छातीमा गोली लागेका छोराको अवस्था गम्भीर रहेको बताउँदै मृतक र घाइते परिवारको पीडाप्रति राज्यले संवेदनशील बन्नुपर्ने माग गरेका छन्।

अनिशलाई बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय नजिकैको झडपमा गोली लागेको थियो। हाल उनको उपचार बिर्ता सिटी अस्पतालमा भइरहेको छ।
मोहन श्रेष्ठले आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरूले हालसम्म पीडित परिवारलाई भेट्न समेत नआएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनले भने, “फोनमा आउँछौं भन्छन् तर आउँदैनन्। हाम्रा छोराहरूलाई बलि बनाएर उनीहरू राज्य सत्ता साटिरहेका छन्, यसमा हाम्रो घोर आपत्ति छ।”
परिवारले आन्दोलनका क्रममा मृत्यु हुने र घाइते हुनेहरूलाई सरकार र आन्दोलन नेतृत्व दुवै पक्षले बेवास्ता गरेको आरोप लगाएका छन्।