हल्दीबारीमा राष्ट्रपति रनिङशील प्रतियोगिता सम्पन्न
जनजागृति मावि प्रथम, १४ विद्यालयका १२०० खेलाडीको उत्साहपूर्ण सहभागिता
झापा । हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी–१ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही २८ गतेदेखि सञ्चालन भएको अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनजागृति माध्यमिक विद्यालयले १२ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी हल्दीबारी माध्यमिक विद्यालयले ९ स्वर्ण, १० रजत र १० कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने लक्ष्मी माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा गोल्धाप सन साइन्सले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ। चिल्ड्रेन गार्डेन अंग्रेजी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य, सिग्मा अंग्रेजी माविले ३ स्वर्ण, २ रजत र ५ कास्य, क्यानरी एकेडेमीले १ स्वर्ण र ८ कास्य पदक जितेका छन्। त्यसैगरी जसोदा अंग्रेजी माविले १ रजत र ३ कास्य, कृष्णसागर अंग्रेजी माविले २ रजत र ३ कास्य, चिल्ड्रेन गार्डेन एकेडेमीले १ स्वर्ण, ३ रजत र १ कास्य तथा पञ्चायत माविले १ कास्य पदक प्राप्त गरेका छन्।
त्यस्तै सरस्वती माविले २ कास्य, महेन्द्र माविले १ स्वर्ण र १ रजत तथा संस्काराले २ कास्य पदक जित्न सफल भएका छन्।
पालिकाभित्रका १४ विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै कुल ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
एथलेटिक्सतर्फ छात्रतर्फ हल्दीबारी माविकी समीक्षा हेमारम र जनजागृति माविका सुमन राई उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गर्न सफल भए।
उत्कृष्ट खेलाडीहरूलाई छनोट गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी गराउन प्रशिक्षण तथा बन्द शिविरको आयोजना गरिने राष्ट्रपति रनिङशील प्रतियोगिता आयोग समितिका संयोजक एवं हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिनुभयो।
समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष शूकालाल राजवंशीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूले विजयी खेलाडी तथा विद्यालयहरूलाई मेडल र ट्रफी वितरण गर्दै खेलकुदले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
हल्दीबारीमा राष्ट्रपति रनिङशील प्रतियोगिता सम्पन्नजनजागृति मावि प्रथम, १४ विद्यालयका १२सय खेलाडीको उत्साहपूर्ण सहभागिता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















