हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १२ महिना अगाडि

हल्दीबारीमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता विस्तार तीव्र

झापा — झापाको हल्दीबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र सदस्यता अभियानलाई तीव्रता दिएको छ।
पार्टीले विभिन्न चरणका छलफल र आन्तरिक तयारीपछि स्थानीय तहमा संगठन बलियो बनाउने उद्देश्यले सदस्य विस्तारलाई प्राथमिकता दिएको  रास्वपाका ओम राईले बताए। उनका अनुसार हाल हल्दीबारीमा पुराना ठूला दलहरू — कांग्रेस, एमाले, माओवादी र राप्रपा — मा सक्रिय भूमिका खेल्दै आएका युवाहरू समेत रास्वपामा प्रवेश गर्न थालेका छन्।
“ठूला दलहरूमा निराश भएका युवाहरू धमाधम सदस्यता लिइरहेका छन्,” राईले भने, “हल्दीबारीमा संगठन विस्तार सुस्त भए पनि पछिल्लो समय उत्साहजनक संकेत देखिन थालेका छन्।”
झापा जिल्लाभर विभिन्न पालिकामा रास्वपाको संगठन विस्तार भैरहेको अवस्थामा हल्दीबारीमा पनि युवाहरूको सक्रियता देखिन थालेको रास्वपा जिल्ला पार्टी कार्यालयले जनाएको छ।
२०७९ सालको संघीय निर्वाचनमा हल्दीबारी क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ तीन हजार सात सयभन्दा बढी मत प्राप्त गरेको थियो। त्यसयता वैदेशिक रोजगारीमा रहेका सयौं युवाहरूले समेत विदेशबाटै पार्टीको सदस्यता लिइरहेको जिल्ला पार्टी कार्यालयको दाबी छ।
देशमा बढ्दो बेथिति, भ्रष्टाचार र नेता रवि लामिछानेलाई जेल हालिएको घटनाप्रति असन्तुष्टि जनाउँदै रास्वपा हल्दीबारीका स्थानीय नेताहरू डम्बर गिरी, ओम राई र यमकान्त निरौलाको संयोजनमा यही आउँदो शनिबारदेखि हस्ताक्षर अभियान सञ्चालन गर्ने तयारी गरिएको  रास्वपा क्षेत्रीय कमिटी सदस्य सन्तोष मेचीले जानकारी दिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)