झापा । हल्दीबारी गाउँपालिका वडा नं. २ ले ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत कृषि सामग्री खरिद गरी किसानहरूलाई बुधबार एक कार्यक्रमका बीच वितरण गरेको छ।
वडा अध्यक्ष शुकलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब १६ लाख २६ हजार रुपैयाँ बराबरका चाप कटर (घाँस तथा मकै काट्ने मेसिन) र मकै छोडाउने मेसिन वितरण गरिएको हो।
वडा कार्यालयका अनुसार पशुपालक किसानलाई अत्यावश्यक पर्ने चाप कटर प्रतिगोटा ३० हजार रुपैयाँ मूल्यका दरले ४३ जना किसानलाई वितरण गरिएको छ। त्यसैगरी प्रतिगोटा १६ हजार रुपैयाँ मूल्य पर्ने मकै छोडाउने मेसिन २१ जना किसानलाई प्रदान गरिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राजवंशीले स्थानीय तहको हालको कार्यकाल एक वर्ष मात्र बाँकी रहेको उल्लेख गर्दै किसानलाई आवश्यक पर्ने कृषि सामग्री आगामी बजेटमार्फत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा कार्यालय र किसानबीच लागत साझेदारीमा खरिद गरिएका कृषि औजार वितरण कार्यक्रममा वडा सदस्य रचना कुलुङ राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा कृषकहरूको तर्फबाट यमाकान्त निरौलाले मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्य वडा सदस्य विष्णु राईले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण वडा सचिव मदन थापाले गर्नुभएको थियो।
वडा अध्यक्ष राजवंशीले वडा नं. २ ले हरेक वर्ष कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक कृषि औजार तथा सामग्री वितरण गर्दै आएको बताउनुभयो। यस्ता कार्यक्रमले किसानको उत्पादन क्षमता वृद्धि हुनुका साथै कृषि पेशालाई थप आकर्षक बनाउन सहयोग पुग्ने उहाँको विश्वास रहेको छ।
हल्दीबारी–२ मा ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















