झापा — हल्दीबारी गाउँपालिका वडा नम्बर ३ का क्रिकेट खेलाडीहरूले प्रथम वडास्तरीय हल्दीबारी टी–टेन लिग कम क्रिकेट प्रतियोगिता २०८२ मा दोस्रो स्थान हासिल गरी प्राप्त गरेको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण गरेका छन्।

सोमबार आयोजित कार्यक्रममा टिमका क्याप्टेन टङ्कबहादुर लिङदेनसहित सदस्य खेलाडीहरू वडा कार्यालयमा उपस्थित भई प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै प्राप्त ट्रफी तथा चेकबोर्ड औपचारिक रूपमा वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टिमले दोस्रो स्थानसहित नगद रु. १२ हजार पुरस्कार प्राप्त गर्न सफल भएको थियो।

ट्रफी हस्तान्तरणको अवसरमा हल्दीबारी गाउँपालिका वडा नम्बर ३ को कार्यालय तथा ढडुवा युवा क्लब परिवारले खेलाडीहरूलाई खादा लगाएर सम्मान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विष्णुप्रसाद ओलीले वडाभित्रका खेलाडीहरूले देखाएको प्रतिभा र समर्पणले वडाको पहिचान बढाएको बताउँदै उनीहरूको उपलब्धिप्रति गर्व व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई खेल क्षेत्रमै निरन्तर लागेर अझै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भविष्यमा खेल क्षेत्रलाई व्यवसायिक रूपमा अघि बढाउन शुभकामना व्यक्त गर्नुभयो। साथै खेलाडीहरूको मनोबल उच्च बनाउन आगामी दिनमा केही नगद सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, वडा सचिव राजन खतिवडा, ढडुवा युवा क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने, सचिव अभिषेक खतिवडा लगायत खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण क्लबका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।

पछिल्लो समय ढडुवा युवा क्लबले वडा कार्यालय तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने, सम्मान कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधि निरन्तर गर्दै आएको छ। त्यस्तै हल्दीबारी गाउँपालिका वडा नम्बर ३ ले पनि खेल क्षेत्रको विकासका लागि दीर्घकालीन लगानी गर्दै खेलाडीहरूको मनोबल उच्च बनाउने अभियान अघि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार