भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ स्थित सन्थाल बस्तीमा गएराति आएको भीषण हावाहुरी र असिनापानीले ठुलो धनजनको क्षति पुर्‍याएको छ। मिति २०८२ चैत १४ गते बिहानपख आएको तीव्र गतिको बतास र मुसलधारे वर्षाका कारण स्थानीय बासिन्दाहरूको टिनको छानो उडाउनुका साथै घरहरूमा पूर्ण रूपमा क्षति पुगेको हो। प्रहरी चौकी मेचीपारीले दिएको प्रारम्भिक जानकारी अनुसार यस प्राकृतिक विपत्तिबाट चारवटा परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने कुल १ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

​विपत्तिका कारण स्थानीय बुधय मुर्मुको टिनको छानो र बेरा भएको एकतल्ले घर हावाहुरीले उडाएको छ। मुर्मुको घरमा भएको भौतिक क्षतिका साथै पाल्दै गरिएका २० वटा कुखुराका चल्लाहरू समेत मरेका छन्, जसबाट करिब ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। यस्तै, सोही बस्तीका कमल गणेशको टिनको घरमा पनि पूर्ण क्षति पुग्दा १५ हजार बराबरको नोक्सानी भएको छ।

​प्राकृतिक प्रकोपको मारमा परेका अर्का स्थानीय दुखिया महत्तोको एकतल्ले भान्सा घर पूर्ण रूपमा ध्वस्त भएको छ। महत्तोको भान्सा घरमा भएको क्षतिबाट करिब ३५ हजार रुपैयाँ बराबरको घाटा लागेको प्रहरीको भनाइ छ। त्यसै गरी मिस्ति राजवंशीको पनि टिनको छानो र बेरा भएको एकतल्ले घर हावाहुरीले ढलाउँदा करिब ३० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

अचानक आएको यो विपत्तिले सतार बस्तीका विपन्न परिवारहरूलाई थप कष्टमा पारेको छ। हाल स्थानीय प्रशासन र प्रहरीले क्षतिको थप विवरण सङ्कलन गरिरहेका छन् भने पीडितहरू सुरक्षित स्थानमा ओत लागिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार