हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

B&C मेडिकल कलेज अब मेरो होइन, राज्यको सम्पत्ति हो, सञ्चालन अनुमति पाउनुपर्छः दुर्गा प्रसाईं

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल अस्पताल अब आफ्नो मात्र सम्पत्ति नभएको बताएका छन् ।

Advertisement

अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी प्रसाईंले भने, ‘यी भवन संरचना, उपकरण र जनशक्तिहरु अब मेरा सम्पत्ति होइनन्, नेपाल राष्ट्रका सम्पत्ति हुन्, यी सम्पत्ति यसै खेर जानु हुँदैन ।’

Advertisement

सरकारले २०६८ माघ २३ मा मनसाय पत्र (एलओआई) दिएपछि बैंकले कर्जा दिएको र त्यही पैसाले आफूले अस्पतालको संरचना बनाइसकेपछि सञ्चालन अनुमति नदिनुचाहिँ बेइमानी भएको प्रसाईंले बताए ।

‘शिक्षा मन्त्रालयले एलओआई दिएपछि राखेका सर्तहरुअनुसार सबै काम सकेँ,’ उनले भने, ‘सर्तअनुसार गुरुयोजना बनाएँ, भवन संरचना बनाएँ, ईआईए पेस गरेँ, ३ सय शय्याको अस्पताल सञ्चालन सुरु भयो, त्यसपछि ममाथि राजनीति सुरु भयो ।’

सबै निकायले अनुमति दिइसक्दा पनि राष्ट्रिय चिकित्सा आयोगबाट सञ्चालन अनुमति नपाएका कारण आफ्नो २०-२५ करोड रुपैयाँका उपकरणसमेत काम नलाग्ने भएको गुनासो उनले गरे ।

‘यसमा मेरो कुनै गल्ती छ ?’ व्यवसायी प्रसाईंले भने, ‘छ भने सरकारले यो सबै सम्पत्ति आफ्नो बनाओस् तर अस्पताल चल्नुपर्छ, यहाँबाट डाक्टर उत्पादन हुनुपर्छ, वार्षिक ३ सय जना डाक्टर उत्पादन हुँदा १० प्रतिशतका दरले ३० जना गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ । योभन्दा बढी मेरो उद्देश्य छैन ।’

बैंकले आफूलाई शोषण गरेको र ठगेको उनले आरोप लगाए । ‘बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’

कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले बताए ।

आफूले थालेको अभियानमा पनि बैंकको साँवाब्याज नतिर्ने कुरा कहिले नगरेको उनले बताए । ‘मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ,’ उनले भने, ‘मैले आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको छु ।’

कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको उनले बताए । उनले धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जनाए ।

कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधीन छ । क्लिकमाण्डुबाट साभार

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)