समाचार
हल्दिबारी संवाददाता ९ मिनेट अगाडि

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोली घोषणा, सन्दीप लामिछाने कप्तान

झापा । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी एकदिवसीय पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली सार्वजनिक गरेको हो ।

​घोषित टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल र रशिद खान अटाएका छन् । यस्तै, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतमले पनि टोलीमा स्थान बनाएका छन् । युवा खेलाडी अभिषेक गौतमले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका छन् ।

​आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमै आयोजना हुने यस प्रतियोगितामा नेपालसहित आठ टोलीले राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने खेलहरूबाट शीर्ष चार स्थानमा रहने टोली सन् २०२७ को विश्वकप ग्लोबल छनोटमा पुग्नेछन् । घरेलु मैदानमा हुने यस महत्त्वपूर्ण प्रतियोगिताका लागि क्यानले अनुभवी र युवा खेलाडीको सन्तुलित टोली मैदान उतार्ने तयारी गरेको हो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)