मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउनका लागि जनताको साथ चाहिने बताएका छन् । मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्राखोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्रीमोदीले यस्तो बताएका हुन् ।

“संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ” मन्त्रीमोदीले भने, “संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन ।”

संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइ रहेको प्रसंग कोट्याउँदै मन्त्रीमोदीले भने, “संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयता बाहेक अरु हुन सक्दैन ।”

त्यस्तै समानुपातिक समावेशीता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँचभएको आफ्नो समेत उदाहरण दिँदै मन्त्रीमोदीले भने, “एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनै पर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एक जना दलित अनिवार्य गरेको छ, यो भन्दा उन्नत प्रावधान र व्यवस्था अरु हुन सक्दैन ।” मन्त्रीमोदीले सरकार संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणको दिशामा अगाडि बढिरहेको समेत बताए ।
त्यसै गरी सामाजिक न्यायसहित सुशासन कायम गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि लैजाने उद्देश्य सहित सरकारले काम गरिरहेको उनको भनाई थियो । “सरकारले अहिले भ्रष्टचार निर्मुल गरी सुशासन कायम गर्ने र विकास र समृद्धि मार्फत् जनजीविकामा परिवर्तन ल्याउनेगरी काम गरिरहेको छ” मन्त्रीमोदीले भने, “जनताको जीवनस्तर उकास्नेगरी कार्यक्रमहरु अगाडि बढाउने दिशामा यो सरकार क्रियाशील छ ।”