ललितपुर ।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन् । शुक्रबार बिहान १० बजे मन्त्रीमोदी र सचिवपुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेका हुन् ।

यस अघि विभिन्न सञ्चार माध्यममा मन्त्री र सचिवका बीच मेलमिलाप नरहेको भनी प्रकाशित समाचार आइरहेकै बेलामन्त्री र सचिव एक साथ अनुगमनमा निस्किएका हुन् ।अनुगमन सह सचिव कमल भट्टराई पनि उपस्थित थिए ।

निरीक्षणका क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमितअनुगमन गरिरहेको बताए ।

“मैले पदभार ग्रहण गर्दाखेरि नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामानै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ” मन्त्री मोदीले भने ।
अनुगमनका क्रममा मन्त्री र सचिवले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा. राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्य योजना बारे जानकारी गराएका थिए ।
मन्त्रीमोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधार मार्फत् सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन् । उनले यसअघि पटक पटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय किताबखाना (निजामती) लगायतका कार्यालयको अनुगमन गरिसकेका छन् ।
मन्त्री मोदीले कर्मचारी प्रशासन सुधारका लागि चालेका कदमबाट केही सुधार समेत हुँदै आएको छ । उनले बढुवा भएका कर्मचारी सहित अतिरिक्तका कर्मचारीलाई अनिवार्य रुपमा स्थानीयतहमा खटाउनेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने सम्मका कामहरु भइरहेको छ ।
स्टाफ कलेजले प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सेवाप्रवेश तालिमदेखि निवृत्तिभरण पश्चातको जीवन यापन सम्मका तालिमका कक्षा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।