बिर्तामोड, झापा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला समितिको पहिलो ऐतिहासिक अधिवेशन आगामी जेठ २३ गते हुने भएको छ। गत जेठ १८ गते सोमबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको जिल्ला समितिको बैठकले अधिवेशनको मिति तय गरेको हो।

​गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा झापाका पाँचै वटा निर्वाचन क्षेत्रमा भारी मतान्तरसहित क्लिन स्वीप गरेको रास्वपाको यस अधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। चुनावी सफलतापछि सङ्गठनलाई थप मजबुत बनाउने कमान्ड कसको हातमा पुग्ला भन्ने कौतुहलताका बीच जिल्ला सभापति पदका लागि हालसम्म ३ जना आकाङ्क्षीहरू मैदानमा देखिएका छन्। सभापतिका आकाङ्क्षीहरूमा बिर्तामोडका अर्जुन मैनाली ,मेचीनगर काँकरभिट्टाका ओमनाथ भण्डारी, भद्रपुरका लक्ष्मण बस्नेत रहेका छन्।

​मैदानमा आकाङ्क्षीहरू देखिए पनि झापा रास्वपा वृत्तमा अर्जुन मैनाली सबैभन्दा बलियो र भरोसायोग्य उम्मेदवारको रूपमा उदाएका छन्। बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव समेत रहेका कुशल व्यवसायी मैनाली झापाका युवाहरू माझ निकै लोकप्रिय मानिन्छन्। रास्वपालाई झापामा स्थापित गर्न र सङ्गठन विस्तारको जग खडा गर्न मैनालीले सुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गर्दै आएका छन्। व्यावसायिक कुशलतासँगै सामाजिक क्रियाकलापमा उनी सधैँ अग्रपङ्क्तिमा रहने गरेका कारण सर्वसाधारण र युवा पुस्तासँग उनको निकटता निकै राम्रो रहेको छ।

​उद्योग वाणिज्य सङ्घजस्तो व्यावसायिक संस्थामा कुशलतापूर्वक नेतृत्व सम्हालिसकेको अनुभव भएकाले उनले जिल्लाका सबै क्षेत्र र विचारलाई समेटेर लैजान सक्ने आकलन नेता-कार्यकर्ताहरूले गरेका छन्। झापामा रास्वपाले पाएको अभूतपूर्व जनमतलाई संस्थागत गर्न र आगामी दिनमा पार्टीलाई थप उचाइमा पुर्‍याउन मैनालीलाई नै झापाको कमान्ड सुम्पिनुपर्ने आवाज कार्यकर्ता तहमा बलियो बन्दै गएको छ। युवाहरूको चाहना र सङ्गठनको आवश्यकता दुवै पक्षलाई मध्यनजर गर्दा अर्जुन मैनाली नै झापा रास्वपाको आगामी नेतृत्व सम्हाल्ने प्रबल सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार