हल्दिबारी, झापा । झापाको हल्दिबारी-४ स्थित जलथल खानेपानी तथा सर-सफाई उपभोक्ता समितिले आफ्नो पाँचौ साधारण सभा आगामी जेठ २३ गते शनिबार आयोजना गर्ने भएको छ।
समितिको हालै (जेठ ६ गते) बसेको बैठकको निर्णयअनुसार उक्त साधारण सभा जेठ २३ गते बिहान ठीक १०:०० बजे संस्थाकै कार्यालय प्राङ्गणमा सुरु हुने जानकारी दिइएको छ।
विगत दुई दशकदेखि (स्थापना २०६२) हल्दिबारी क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानी वितरण तथा सर-सफाईको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको यस संस्थाले साधारण सभाको तयारीलाई तीव्र पारेको छ। सभामा संस्थाको आर्थिक वर्षको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका रणनीतिक योजनाहरू प्रस्तुत गरिने बुझिएको छ।

समितिका अध्यक्ष केदार प्र. उप्रेतीले संस्थाको विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन उपभोक्ताहरूको सल्लाह-सुझाव अपरिहार्य रहने बताउनुभएको छ। उहाँले स्थानीय सरोकारवाला तथा सम्पूर्ण आदरणीय उपभोक्ता महानुभावहरूलाई तोकिएको समयमै गरिमामय उपस्थिति भई साधारण सभा भव्य रूपमा सफल पारिदिन हार्दिक अपिल समेत गर्नुभएको छ।
















