काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार चोरीमा संलग्न नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिका–महांकाल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउका क्रममा थारुलाई गोली प्रहार गरेको छ। भाग्न खोजेपछि उनको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए। प्रहरीले एक राउण्ड गोली प्रहार गरेको जनाएको छ।
प्रहरी अनुसन्धान अनुसार मंगलबार दिउँसो थारुले रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र सि–मालासहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए। उनी दिउँसो करिब १२ बजेतिर घरमा प्रवेश गरी सिधै चौथो तलामा पुगेका थिए। ढोकाको लक फोडेर भित्र राखिएका गहना झोलामा प्याक गरी बाहिरिएका थिए।
घटनाका बेला घरका केही सदस्य पाँचौँ तला र छतमा घाम तापिरहेका थिए भने केही कोठा भाडामा समेत दिइएको थियो। करिब २ बजेतिर ढोकाको लक फोडिएको र सुनजडित सि–माला हराएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले चोरी भएको २४ घण्टाभित्रै आरोपीलाई पक्राउ गरेको जनाएको छ। यसैबीच, माघ १७ गते भोटेबहाल क्षेत्रमा भएको २५ तोला सुन चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















